• २०८१ पुष ८, २०८१ ०८:१९

त्रिविको गिर्दो साख

त्रिविको गिर्दो साख

विगत केही समयदेखि नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग जोडिएर आएका समाचारहरू विश्लेषण गर्ने हो भने यो संस्था भ्रष्ट, बेइमान र अपराधिक मानसिक चिन्तन बोकेकाहरूका अखडा बन्दै गएको प्रतीत हुन्छ । आर्थिक अनियमितता त छँदैछ, अहिले पछिल्लो समयमा आएर फेल भएकाहरूलाई पनि पैसाले छोपेर गोल्ड मेडल दिलाएको विषयदेखि गोप्य शाखासँग सेटिङ गरी परीक्षामा अत्यन्त न्युन नम्बर ल्याएका अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थप गरी उपाधि बेचेको प्रमाणसहितका समाचार बाहिरिएपछि धेरै बौद्धिक व्यक्तित्वहरू लाजले टाउको झुकाउन बाध्य बनेका छन् । अझ सेवा आयोगको कापी जाँचेर बुझाइसकेपछि पनि बोलाएर नम्बर थप्न लगाएको, योग्यको अङ्क घटाउन लगाएको लगायतका समाचार छापामा आएपछि विश्वविद्यालयभित्रको अँध्यारो कोठामा हुने गरेको फोहरी खेलहरूको पर्दाफास मात्र भएको छैन, प्राज्ञिक थलो मानिने ठाउँहरूमा के–कस्ता व्यक्तिहरू पदासिन रहेछन् भन्ने भेद पनि खुलेको छ । सबै गलत नहोलान् तर केही पथभ्रष्ट पदाधिकारीहरू र बेइमान कर्मचारीहरूका कारण त्रिविको साख दिनानुदिन गिर्दो अवस्थामा पुगेको छ । अब यो लुकाएर लुक्ने विषय रहेन ।

उपप्राध्यापकको परीक्षामा भएको अनियमितताको घटना सेलाउन नपाउँदै कर्मचारीको परीक्षामा भएको नाङ्गो अनियमितता बाहिरियो । त्यसपछि पनि क्रमशः पैसा तिरेर गोल्ड मेडल किनेको देखि परीक्षामा सामेल मात्र भएका विषयमा पनि राम्रो अङ्क दिई उपाधि बिक्री गरेको विषय बजारमा असरल्ल भएर पोखिन पुग्यो । यी त मिडियाले देखेका र सार्वजनिक भएका पछिल्ला सन्दर्भहरू मात्र हुन् । मिडियाका आँखा नपुगेका र भित्रभित्रै गुपचुप गरेर मिलाइएका अरू कति बेथितिहरू होलान् ? सबैलाई शङ्का गर्ने ठाउँ मिलेको छ । कतिपय विद्यावारिधिको उपाधि प्राप्त गरेका व्यक्तिहरूको बौद्धिक स्तर र सामाजिक सञ्जालमा उनीहरूले लेखेको स्टाटस हेर्दा अनियमितताका जरा पहिलेदेखि नै फैलिएको र धेरै भित्रसम्म पुगिसकेको भान हुन्छ ।

विभिन्न समयमा भिन्नभिन्न विषयहरूमा त्रिविमा अनेक खालका समस्याहरू आइरहे, विवादहरू भइरहे तथा घटनाहरू घटिरहे । यसरी सिङ्गो विश्वविद्यालयको गरिमालाई नै आँच पुर्याउने घटनाहरू सार्वजनिक भइरहँदा पनि ती घटनाहरूको दीर्घकालीन समाधान खोजिएन । शक्ति केन्द्रमा धाएर शक्तिमा पुगेकाहरू संस्थागत सुव्यवस्था कायम गर्नभन्दा शक्ति केन्द्रलाई खुसी पारेर शक्तिमा बसिरहन नै आफ्नो शक्ति खर्च गरिरहे । आफू शक्तिमा रहिरहन र शक्तिमा रहेको बेला आफ्नो शक्तिलाई थप शक्तिशाली बनाउन मात्र क्रियाशील हुँदा त्रिविको साख गिर्न पुग्यो ।

त्रिविको स्थापनाको इतिहास भने कम गर्व लाग्दो थिएन । विसं. २०१६ सालमा राष्ट्र निर्माणका लागि दक्ष तथा सृजनशील जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयको स्थापन भएका थियोे । आरम्भका दिनहरूमा विभिन्न खाले अप्ठ्याराहरूको सामना गर्दै अगाडि बढ्दै गर्दा पनि त्रिविले आफ्नै खालको साख र मर्यादालाई बचाएको थियो । त्रिवि शिक्षक, विद्यार्थी र कर्मचारी तथा अभिभावकहरू सबैको आकर्षणको केन्द्र थियो र त्रिविसँग सम्बद्ध हुन पाउँदा सबैलाई गर्वको विषय बन्ने गथ्र्यो । अहिले नेपालमा ११ विश्वविद्यालयहरू छन् तर पनि त्रिविमा जति विद्यार्थी अन्य विश्वविद्यालयमा छैनन् । तर केही दरिद्र मानसिकता बोकेका पदाधिकारी र कर्मचारीका कारण त्रिवि उठ्नै नसक्ने गरी थला पर्न लागेको छ । भनिन्छ ‘कुनै पनि राष्ट्रलाइ बिगार्नु छ भने पहिला शिक्षण संस्थालाई तहसनहस बनाइदिए पुग्छ ।’ कतै त्रिवि यस्तै षडयन्त्रको शिकार बनिरहेको त छैन ? सबैलाई शङ्का गर्ने सुविधा प्राप्त भएको छ ।

त्रिविमा विकृति बढ्नुको प्रमुख कारण राजनीतिक नियुक्ति र भागबण्डा नै हो । मुखले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्छ भन्ने कुरा गरे पनि महत्वपूर्ण पदहरू राजनैतिक रूपमा भागबण्डा गर्ने परम्पराले जिम्मेवार पदमा अयोग्य व्यक्तिहरू पुगे र त्रिवि उनीहरूका लागि कमाइखाने भाँडो बन्न पुग्यो । यस्तै अयोग्य र राजनैतिक आग्रह राख्नेहरूको हातको कठपुतली बन्न पुग्दा त्रिविको यो हविगत भएको हो । अझै पनि त्रिविको भलो चाहने हो भने सर्वप्रथम यसलाई राजनैतिक प्रभावबाट टाढा राख्नुपर्छ । योग्यता, क्षमता र अनुभवका आधारमा योग्य व्यक्तिलाई उचित स्थान दिनुपर्छ । नियत खराब भएका र गलत काम गर्ने जोसुकैलाई पनि कार्यवाहीको दायरामा ल्याउन सक्नुपर्छ । त्रिवि नेपालको जेठो र ठूलो विश्वविद्यालय भएको नाताले मात्र होइन, नेपालको प्रतिष्ठा र पहिचानसँग पनि जोडिएकोले यसको गरिमालाई बचाउनु पर्छ । यसका लागि समस्या जहाँबाट आरम्भ भयो, उपचार पनि त्यहींबाट खोजिनुपर्छ । फेरि पनि त्रिभुवन विश्वविद्यालयलाई राजनैतिक भर्ती–केन्द्रमात्र बनाउने हो भने यस्ता घटनाहरू दोहोरिइरहने छन् र केही वर्षपछि त्रिभुवन विश्वविद्यालय इतिहास पढ्नेहरूको लागि एउटा विषयमा मात्र सीमित बन्न पुग्नेछ ।