• २०८१ पुष ८, २०८१ ११:५३

भोजपुर घटनाका विषयमा आईजीपी खनालले भने- प्रहरीमाथि एक्कासि गोली हानियो

भोजपुर घटनाका विषयमा आईजीपी खनालले भने- प्रहरीमाथि एक्कासि गोली हानियो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर घटनामा विप्लवका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको बताएका छन् । बुधबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा उनले सांसदलाइ घटनाबारे जानकारी गराउँदै विप्लवका कार्यकर्ताले एक्कासी प्रहरीमाथि गोली प्रहार गरेको बताएका हुन् ।

बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका थिए ।

भने ‘भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो ।’ उनले थपे, ‘भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ ।

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो ।

भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राई छन’ खनालले थपे, ‘त्यस्तै नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ । घटनामा एक प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन् ।’ गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको महानिरीक्षक खनालले बताए ।