• २०८१ पुष ८, २०८१ ०४:४२

विपद्मा नागरिक जोगाउन सशस्त्र प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक खनाल

विपद्मा नागरिक जोगाउन सशस्त्र प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४सै घण्टा खटिने बताएका छन् । आज पाँचखाल नगरपालिका–७ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर भवनको उद्घाटन गर्दै उनले जनताको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताए ।

महानिरीक्षक खनालले विपद्को अवस्थामा होस् या अन्य अवस्थामा सशस्त्र प्रहरी जनताको सुरक्षा तथा उद्धारमा खटिँदै आएको बताए । उनले विपद्को अवस्थामा सशस्त्र प्रहरी बल अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्दै आएको बताए । ‘हामी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय तहसँग मिलेर काम गरिरहेका छौँ’, खनालले भने ।

सो अवसरमा गणपति प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले रु १३ करोड २१ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । पाँचखालमा २२० रोपनी जमीन अधिग्रहण गरी भौतिक पूर्वाधार निर्माण गरिएको हो ।