• २०८१ पुष ९, २०८१ ०६:३७

कांग्रेस सांसदको पाँच दिनको तलबभत्ता बाढीपीडितलाई

कांग्रेस सांसदको पाँच दिनको तलबभत्ता बाढीपीडितलाई

नेपाली कांग्रेस प्रदेश ३ प्रदेशसभाका सांसदहरुले पाँच दिनको तलब बाढीपीडितलाई दिर्ने भएका छन्। कांग्रेस प्रदेश ३ सांसदीय दलले उक्त निर्णय गरेको हो। कांग्रेस प्रदेश ३ संसदीय दलले शुक्रबार विज्ञप्ती जारी गर्दै आफ्ना २१ जना सांसदको पाँच दिनको सेवा सुविधा बाढीपहिरो र डुबानबाट प्रभावितलाई वितरण गर्न राहत स्वरुप प्रदेश सरकारलाई उपलब्ध गराउने जनाएको छ।

नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीपहिरो र डुबानबाट मृत्यु भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने निर्णय सच्याई तत्काल तीन लाख दिन समेत माग गरिएको छ। बाढीपहिरो र डुवानका कारण पूर्ण क्षति र आंशिक क्षति भएका घरपरिवारलाई अस्थायी आश्रयस्थल, खाना र लत्ताकपडाको व्यवस्थाका साथै प्राकृतिक प्रकोपको पीडाबाट बाहिर निस्कन तत्काल एक लाखसम्म राहतस्वरुप रकम उपलब्ध गराउन समेत माग गरिएको छ।

बाढीपहिरोमा परी मृत्यु भएका, घाइते एवं हजारौं संख्यामा घरपरिवारहरु विस्थापित र पीडित भएकाहरुको तत्काल स्थानान्तरण, राहत र अस्थायी आश्रय स्थलको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ।