• २०८१ पुष ८, २०८१ ०२:१७

प्रचण्ड–माधव समूहद्वारा देशभर आन्दोलनको घोषणा

काठमाडौँ । प्रचण्ड – नेपाल समूहले संसद विघटनविरुद्ध  देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहिबार बबरमहलमा बसेको केन्द्रिय कमिटिको बैठकले आन्दोलनको घोषणा गरेको हो । आजको बैठकले पुष १० गते देखि २५ गते सम्म आन्दोलन गर्ने निर्णय गरेको छ ।

जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।
पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर प्रदेशमा तत्काल स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी थप गरिएको छ ।