• २०८१ पुष ८, २०८१ ०६:४४

शेरबहादुर देउबा प्रधानमन्त्री नियुक्त, शपथ ग्रहणको तयारी

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउबा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरिकी हुन् । सर्वोच्च अदालतले देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न मंगलबार ५ बजे सम्मको समय दिएको थियो।

सर्वोच्च अदालतले दिएको समय सकिन १ घण्टा अगाडी मात्रै राष्ट्रपतिले देउबालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रधानमन्त्री केपी ओलीले जेठ ७ गते दोश्रो पटक संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरेको हो । बहुमत समर्थन प्राप्त शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न  सर्वोच्च अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेको थियो । सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको थियो ।

यो संगै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउबा शपथ ग्रहणका लागि शितल निवास पुगेका छन् । जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ ।

साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।