• २०८१ पुष ८, २०८१ ०६:१६

दार्चुला तुइन घटना विरुद्ध युवा संघको काठमाडौँमा प्रदर्शन

काठमाडौँ । दार्चुलामा तुइन चुडिएर एकजना युवा नदीमा बेपत्ता भएपछि अहिले सामजिक संजाल देखि मिडियामा व्यापक विरोध भएको छ । भारतीय एसएसबीको लापरबाहीको कारण यो घटना घटेको बताइरहदा अझै यसको सत्य तथ्य बाहिर आउन सकेको छैन । यहि घटनाको विरोधमा आइतबार नेकपा एमाले निकट युवा संघले काठमाडौँमा विरोध गरेको छ ।

 

देउबा सरकारलाई यस घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । दार्चुलाको  व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।

तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

युवा संघले यस विषयमा सरकार मौन बसेको बताउँदै तत्काल दोषीलाई कारवाही नगरिए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएको छ ।