• २०८१ पुष ८, २०८१ ११:२८

एक दुई पात झर्दैमा रुखलाई केहि असर पर्दैन: केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधब नेपाललाई संकेत गर्दै एक दुई पात झर्दैमा रुखलाई कुन असर नपर्ने बताएका छन् । युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै भने एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको टुसा पलाएको । नयाँ नयाँ पालुवा पलाउँदैछन्, नयाँ नयाँ हाँगा हाल्दैछन् ।

एमाले फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको भन्दै ओलीले अघि भने, केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् ।

पार्टी एकता गर्नका लागि आफूले भरमग्दुर प्रयास गरेको तर नेपाल विभाजनका लागि कसम खाएर लागेकाले रोक्न सम्भव नभएको ओलीको भनाइ थियो । नेपालले देशलाई अप्ठ्यारोमा पार्ने र विदेशीको दलाली गरेर एमाले विभाजन गरेको उनको आरोप थियो ।

‘कति गर्दाखेरि पनि पार लागेन । २० औँ पल्ट फोन गरे, ८ पल्ट जहाँजहाँ भन्यो त्यतै त्यतै गएर, धाएर सम्झाएँ,’ पार्टी विभाजन रोक्न आफूले खेलेको भूमिकाबारे ओलीले थपे, ‘मैले सम्झाएको दुनियाँले मान्छ तर केही केही मान्छे मानेनन् । पानी समाएर कसम खाएकाहरू ।’ माधव नेपाललगायतका मान्छेहरूलाई पार्टी विभाजन नगर्न भनेर सम्झाएर बुझाएर पनि नकसिएको ओलीको भनाइ थियो ।