काठमाडौँ । तराईबासीले काठमाडौँमा भब्य संग छठ पर्व मनाएका छन् । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । काठमाडौं उपत्यकाको वाग्मती किनार, कमलपोखरी, स्वीमिङ पुल आदिमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।