काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रिय सदस्य प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएकोमा असन्तुष्टि जनाएका छन् । एमालेको चितवन सौराहामा चलिरहेको बन्दसत्र हलले ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।
बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।
अर्का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा मृत्युको आँसु बेचेको प्रतिक्रिया दिएका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र आइतबार १० बजे पुनः सुरु हुनेछ ।