• २०८१ पुष ८, २०८१ ०८:५९

स्थिर समय मंसिर १ गते राति १२ बजे पछि शुरु हुन्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगले स्थिर समय मङ्सिर १ गते देखि १२ बजे पछि शुरु हुने बताएका छन् । यो मौन समयमा निर्वाचन सम्बन्धि कुनै पनि कार्य गर्न नपाइने बताएका छन् ।

स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर  तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ । दलका नेता, कार्यकर्ता घर बाहिर  देखिएका छैनन् । स्थिर समय लागू भएसँगै राजनीतिक गतिविधिमा शून्यता देखिएको छ । मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो ।

यसअघिका निर्वाचनमा भने मतदानको अघिल्लो ४८ घण्टाअघिदेखिको समयलाई मौन अवधि भनिन्थ्यो । आयोगले यसपटक नयाँ शब्दावलीको प्रयोग गरेको हो । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहितामा उल्लेख गरिएको छ ।

यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । यो व्यवस्था भने सबैतिर लागू नभएको देखिन्छ । गत रातिदेखि मात्र स्थिर सयम लागू भएकाले आयोगले यो व्यवस्था पनि आजदेखि नै लागू गराउने विश्वास गरिएको छ ।

स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । गरेको पाइएमा कानून बमोजिम कारबाही गर्न सुरक्षा निकाय पनि परिचालन गरिएको छ ।

यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन हुँदैन । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।