कातिक १८, काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरि १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । शुक्रबार रातको ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ सम्म महसुश गरिएको थियो ।
भूकम्पमा परि जाजरकोटमा ९५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । जाजरकोटमा ५५ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।