काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले राष्ट्रिय सभाको निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रिय सभाको निर्वाचन बागमती प्रदेशको हेटौडामा आज बिहान ९ बजे बाट भइरहेको छ । काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोल मतदानका लागि हेटौडा पुगी सकेकी छन् भने बालेन शाह भने काठमाडौँमै रहेका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार मतदानमा मेयर बालेन नजाने भएका हुन् ।
सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन आज भइरहेका छन् । १९ सिटका लागि आज बिहान ९ बजे बाट मतदान सुरु भएको हो । आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान भइरहेको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए । उनका अनुसार ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् । मतदान सके लगतै मतगणरना सुरु हुने र ६-७ बजे सम्म मत परिणाम आइ सक्ने निर्वाचन आयोगले जनाएको छ ।