काठमाडौँ – इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । इरान न्युज एजेन्सीका अनुसार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।
इरानी समाचार संस्थाका अनुसार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए । इरानी गृहमन्त्री अहमद वाहिदीका अनुसार उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको समेत इरानी समाचार संस्थाले जनाएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।