काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको सरकार अल्पमतमा परेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाएको मुख्य पार्टी नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेले माओबादीसंगको सत्ता गठबन्धन तोडेर कांग्रेससंग गठबन्धन गर्ने निर्णय गरेपछि प्रचण्डको सरकार अल्पमतमा परेको हो ।
सोमबार एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउबा, आरजु राणा, रमेश लेखक थिए भने एमालेबाट केपी शर्मा ओली र शंकर पोख्रेल सहभागी रहेका थिए । कांग्रेस सभापति शेरबहादुर देउबा र एमाले अध्यक्ष केपी ओलीले सहमति पत्रमा सोमबार राति हस्ताक्षर गरेका थिए । कांग्रेस र एमालेबीच आलो पालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने छन् भने दोस्रो चरणमा देउबा प्रधानमन्त्री बन्ने गरि सहमति भएको छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले तत्काल राजिनामा नदिने भएको छ । आज बसेको नेकपा माओबादी केन्द्रको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने तर राजिनामा नदिने निर्णय भएको माओबादी केन्द्रका सचिव देबेन्द्र पौडेलले बताए ।