काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन् । बंगलादेशमा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले राजिनामा दिएकी छिन् । हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि बंगलादेश छाडेर उनी भारत गएकी हुन् । हसिना हेलिकप्टर मार्फत भारतको दिल्ली पुगेकी छिन् ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोध गर्दै लाखौं जनता सडकमा उत्रेका छन् । प्रदर्शन प्रधानमन्त्रीको निवास लक्षित भएपछि हसिना सुरक्षाकालागि भारतको दिल्ली गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । बंगलादेशको राजधानी ढाकामा भएको प्रदर्शनमा लगभग ४ लाख मानिस सडकमा उत्रेका छन् । प्रदर्शन हिंसात्मक बन्दा कम्तिमा ३ सय मानिसले ज्यान गुमाई सकेको छ भने सयौं घाइते भएका छन् ।
हसिनाले राजिनामा दिएपछि बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने निर्णय गरेको छ । बंगालदेशको सेना प्रमुखले देशको नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउने निर्णय गरेको हो । अहिले बंगलादेशको सत्ता सेनाको हातमा पुगेको छ ।