काठमाडौँ । काठमाडौँ महानगर पालिकाले नेपाली महिला भलिबल टिमका सदस्य तथा प्रशिक्षकलाई जनही १ लाख प्रदान गरेको छ । काठमाडौँमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपविजेता नेपाली महिला भलिबल खेलाडीलाई जनही १ लाख रुपयाँ र प्रशिक्षक, मेनेजर र सहायक प्रशिक्षक लगायतलाई भने ५० हजार रुपयाँ नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।

काठमाडौँ महानगर पालिकाले महिला भलिबल खेलाडीलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रम राखेको हो । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेपाली महिला भलिबल टिमको प्रशंसा गरेका छन् । मेयर शाहले नेपाली महिला भलिबल खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलमा कुनै कमजोरी नभएको बताएका छन् । मेयर शाहले खेलाडीलाई भने, ‘ खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो ।’ यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’

नगद पुरस्कार पाउने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन् । त्यस्तै खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट रहेका छन् ।
बुधबार भएको काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसंग ३-२ को सेटमा पराजित भएको थियो । उक्त फाइनल खेल हेर्न काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल त्रिपुरेश्वोर पुगेका थिए ।