काठमाडौँ । सहकारीको रकम अपचलनमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । कातिक २ गते प्रहरीले पक्राउ गरेका लामिछानेलाई बुधबार अबेर सम्म बयान लिएर पुरा गरेको छ । पक्राउ गरेको एक हप्ता सम्म पनि प्रहरीले ४/५ घण्टा मात्र बयान लिएको भन्दै रास्वपाले चर्को विरोध जनाएको थियो । विरोध पश्चात पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई गएको आइतबार करिब ८ घण्टा लामो बयान लिएको थियो । आज बुधबार कास्की जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान सकिएको हो ।
बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिएन ।’
लामिछानेलाई थपेको ७ दिनको म्याद आज बुधबार सकिएको छ । १५ गते बाट १९ गते सम्म सार्वजनिक विदा भएकोले २० गते अदालतमा म्याद थप गर्न जाने प्रहरीको तयारी रहेको छ ।
अदालतले तेस्रो पटक अनुमति दिएमा भूतपूर्व गृहमन्त्री लामिछानेको हिरासत बसाइ त्यसअनुसार नै लम्बिनेछ । तर जानकारहरूका अनुसार धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएमा उनी थुनामुक्त पनि हुन सक्छन् ।
यसअघि जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न पहिलो पटक कार्तिक २ गते र दोस्रो पटक कार्तिक ८ गते अनुमति दिएको हो ।