काठमाडौँ । देशभर जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनाबाट प्रारम्भिक परिणामहरू आउन थालेका छन्। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा देशभर व्यापक जनसमर्थन देखिएको छ। हालसम्मको मतगणना अनुसार रास्वपाले देशका करिब ७५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
राजधानीबाट आएको परिणामले सबैभन्दा पहिले ध्यान तानेको छ। काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाले आफ्नो जितको खाता खोलेको छ। यहाँ रास्वपाकी उम्मेदवार रन्जु दर्शना १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी छन्। राजधानीको महत्वपूर्ण क्षेत्रमा प्राप्त यो जितलाई रास्वपाका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ।
यता चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने प्रारम्भिक मतगणनामा स्पष्ट अग्रतासहित अघि बढिरहेका छन्। हालसम्मको मत विवरण अनुसार उनले ६ हजार ७ सय मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवारले २ हजार ३ सय २९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का उम्मेदवारले २ हजार ३ सय २२ मत प्राप्त गरेका छन्।
त्यसैगरी चितवन क्षेत्र नम्बर ३ मा पनि रोचक प्रतिस्पर्धा देखिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार सोबिता गौतम हाल अग्रस्थानमा रहेकी छन्। प्रारम्भिक मतपरिणाम अनुसार उनी रेणु दाहाल भन्दा अगाडि देखिएकी छन्।
यस्तै झापा क्षेत्र नम्बर ५ मा पनि प्रतिस्पर्धा निकै रोचक बनेको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार बालेन शाह अग्रतामा रहेका छन्। हालसम्मको मत विवरण अनुसार बालेन शाहले २ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली ले १ हजार १ सय ३० मत प्राप्त गरेका छन्।
देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट आएको प्रारम्भिक परिणामले यसपटक मतदाताले नयाँ राजनीतिक विकल्पतर्फ झुकाव देखाएको विश्लेषकहरू बताउँछन्। यद्यपि मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।