• २०८१ पुष ८, २०८१ ०४:२८

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा विशेष समय लिएर उनले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे । उनले भने ‘कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।’

असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको बताउँदै उनले यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको स्पष्ट पारे ।

मृतक राय र सिंहको परिवारलाई जनही २५/२५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको उनको भनाइ थियो । बालक रायको मृत्यु र झडपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको उल्लेख गर्दै गृहमन्त्रीले भने ‘छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारवाही हुनेछ ।’

गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गरेका थिए । उनले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताए ।

भने ‘सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन ।’

(फाइल तस्बिर)