• २०८१ पुष ८, २०८१ ०८:१५

कांग्रेसलाई सरकारका प्रवक्ताको प्रश्न– दिनभरि बिपी, रातभरि विप्लव हो?

कांग्रेसलाई सरकारका प्रवक्ताको प्रश्न– दिनभरि बिपी, रातभरि विप्लव हो?

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने उनले बताए ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुनेतर्फ संकेत गर्दै उनले भने, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो?’

प्रतिपक्षी दल नेपाली कांग्रेसले मृत्युको व्यापार गरेको समेत उनले आरोप लगाएका छन्। सर्लाहीमा पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी आएको बताउँदै उनले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको उल्लेख गरे। कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उलने कटाक्ष समेत गरे।