• २०८१ पुष ९, २०८१ ०६:१४

नेपालमा लगानीको थुप्रै सम्भावना छन् : मन्त्री विष्ट

नेपालमा लगानीको थुप्रै सम्भावना छन् : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल राजनीतिक स्थायित्वसँगै अगाडि बढेको भन्दै थप रोजगारीका अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । काठमाडौँस्थित गणतन्त्र कोरियाली दूतावास र अङ्कुर नेपाल संस्थाले मंगलबार आयोजना गरेको ‘गणतन्त्र कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका’ विषयको कार्यशालालाई सम्बोधन गर्दै उहाँले नोपलमा कृषि ऊर्जा, पर्यटन, खनिजलगायत क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताए । ‘नेपालमा लगानीको थुप्रै सम्भावना छन्’, मन्त्री विष्टले भने, ‘रोजगारीका सिर्जना हुने गरी लगानी गर्नुहोस् ।’ दुई देशका निजी क्षेत्रबीच असल औद्योगिक तथा व्यापारिक सम्बन्ध बनाउन उनले आग्रह गरे ।

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली युवा अत्यन्त इमान्दार कामदारका रुपमा चिनिएको उल्लेख गर्दै मन्त्री विष्टले कोरियामा लुकेर बस्ने प्रवृत्तिको अत्य गर्नु आवश्यक भएको बताए । उनले करार अवधि सकिएपछि नेपाल फर्कन र अवैधरुपमा नबस्न आग्रह गरे ।

वार्षिक अर्बौ रकम विप्रेषणका रुपमा नेपाल भित्रिए पनि झन्डै ९० प्रतिशत बढी उपभोग्य वस्तुको खरिदमा खर्च भएको तथ्य पेश गर्दै मन्त्री विष्टले विप्रेषणलाई पूँजी निर्माणमा लगाउन आग्रह गरे । ‘विदेश पठाएको रकम खर्चमात्रै भएको छ, यसबाट पूँजी निर्माण हुन सकेको छैन’, उनले भने, ‘ठूलो हिस्सा बचत गर्न र पूँजी निर्माणमा लगाउन ढिला गर्न हुँदैन ।’ उनले सानो लगानी भए पनि उद्यमी मानसिकताका साथ रोजगारी सिर्जना गर्नेतर्फ अगाडि बढ्न आग्रह गरे।

वैदेशिक रोजगारीलाई सुरक्षित र बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्दै उनले नेपाली युवालाई सीपयुक्त बनाउन कोरिया सरकारको सहयोगको अपेक्षा गरे। मन्त्री विष्टले भने, ‘उल्लेख्य मात्रामा जनशक्ति उत्पादन गर्न सीप केन्द्र स्थापना गर्न छलफल गरौँ ।’