• २०८१ पुष ९, २०८१ ०९:४९

दोर्दीखोला बाढीमा भेटिएका चार शवमध्ये दुईको सनाखत, सात जना अझै बेपत्ता

दोर्दीखोला बाढीमा भेटिएका चार शवमध्ये दुईको सनाखत, सात जना अझै बेपत्ता

दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये दुईको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये दुईको शवको सनाखत आज भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी र डडेलधुरा घर भएका रमेश बुढाको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उनका अनुसार दुई शवको अझै सनाखत हुनसकेको छैन ।

सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरामा भेटिएको थियो । एक जनाको शव नौथर शेरा नजिकै र एक जना कीर्तिपुरमा गरी चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताए । बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए । चारवटै शव परीक्षणका लागि बेँसीशहरको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।