• २०८१ पुष ९, २०८१ ०८:०२

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिनेछ : मन्त्री बाँस्कोटा

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिनेछ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताएका छन् ।मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई शनिबार काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताएका हुन् । ‘भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तर्राष्ट्रिय मिडिया समिट गर्नेछ’, उनले भने ।

मन्त्री बाँस्कोटाले होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै ‘लिड गर्न’ पनि आग्रह गरे । उनले भने, ‘भिजिट ट्वान्टी ट्वान्टी भनेर तपार्इंहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ ।’ उनले सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तर्राष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको स्मरण गराए । उनले भने, ‘प्राकृतिक प्रकोप त जहाँ पनि हुनसक्छ, हामीले त्यसको सामना गर्ने हो ।’

मन्त्री बाँस्कोटाले सङ्गठन, व्यवसाय, विकास, संवद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पुर्याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए । ‘तपाईहरुले बाह्य मात्रै होइन, आन्तरिक पर्यटनमा समेत ध्यान दिनुपर्दछ’, उनले भने, ‘अनुचित बार्गेनिङको विषयका निम्ति कुनै सङ्घसंस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुन्छ, बार्गेनिङ गरेर पाइन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोला ।’

मन्त्री बाँस्कोटाले भ्रमण वर्षका लागि सरकारले औपचारिकरूरुपमा मात्रै रु १० करोड छुट्याएको बताए । ‘भ्रमण वर्षका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतले सहयोग गर्नेछन्, हामी सबै भ्रमण वर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्दछ’, उनले भने ।

मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारणा ल्याउनेका लागि सरकारले सडक, बिजुली, इन्टरनेटलगायत पूर्वाधारको विकास गर्ने बताए।