• २०८१ पुष ८, २०८१ ०३:५०

साँख्य दर्शन र प्रेतकल्पका बीच अल्झिएको आत्मा

साँख्य दर्शन र प्रेतकल्पका बीच अल्झिएको आत्मा

२०६० सालको दशैंको अष्टमी तिथिमा हामीले आमाको वार्षिक श्राद्ध परम्परागत विधिबाटै सम्पन्न गर्यौं । तर किन किन मलाई यो श्राद्धको परम्परागत विधि मन परिरहेको थिएन । श्राद्ध के हो ? किन गरिन्छ ? र त्यसका लागि पाठ गरिने संस्कृत श्लोकहरूले के भन्छन् भन्ने म केही बुझ्दिनथें । त्यसो त बुबाको श्राद्ध पनि मैले त्यसअघि कहिल्यै गरेको थिइनँ । मैले बुबाको श्राद्ध नगरेकैले आमाले भाइलाई लिएर निरन्तर तीन वर्ष पुसे औंसीमा कोकामा गएर बुबाको श्राद्ध गराउनु भएको थियो ।

त्यसैदिन मैले परिवारका सबैलाई भनें– ‘अब अर्काे वर्षदेखि हाम्रोमा श्राद्ध अर्कै किसिमले हुन्छ है ।’ त्यो अर्काे किसिम के हो भन्ने चाहिँ मलाई थाह थिएन । नभन्दै २०६१ सालको अष्टमी तिथिलाई भने अर्कै किसिमको बनाउन सकियो । भाइसँग सल्लाह गरें । उसले मानिहाल्यो । सीताजीले पनि अनुमति दिनुभयो ।

दिदी, बहिनी, भिनाजु, ज्वाइँ, भाञ्जाभाञ्जी आदि परिवारका सबैलाई अनिवार्य रूपमा उपस्थित गराइयो । केही पत्रकार साथीहरू केशव आचार्य, रश्मिशेखर, शिरो सान्दाइ, लेखनाथ भट्टराई, विष्णुकुमार भट्टराई आदिहरू थिए । पुरेत विष्णुप्रसाद काफ्ले उपस्थित हुनुभयो । आज कसरी श्राद्ध गरिनेछ भनी कसैलाई केही भनिएको थिएन ।

बिहानदेखि नै महिलाहरू खीर, पकवानमा लागिसकेका थिए । पुरेतले आएर श्राद्धका लागि आवाश्यक सामग्रीको खोजी गर्न लाग्नुभयो । मैले एकछिन गुरुजी भन्दै टार्दै गएँ । जब मैले बोलाएका साथीभाइहरू भेला भइसके अनि कार्यक्रम शुरू गरियो ।

तस्विरमा लेखक कृष्ण धरावासी

मेरो पुस्तकालय कोठामा कार्यक्रमको तयारी गरिएको थियो । आमा र बुबाका ठूला साइजका हातले बनाइएका फोटोहरू टेबलमा सजाइएको थियो । फोटो अघि दीयो बालियो । धुप सल्काइयो । फूल मालाले फोटोहरू सजाइयो । कार्यक्रमको संचालक म आफैँ थिएँ । सबैभन्दा पहिला कार्यक्रमको सभापतिका लागि पुरेतलाई आशनग्रहण गराइयो । पुरेतलाई माला लगाइयो, टोपी पहिराइयो र एउटा खाम गोजीमा हालिदिइयो । सभापति वरण गरिसकेपछि मैले आज गरिने श्राद्धबारे जानकारी गराउँदै भने– ‘उपस्थित सबै मान्यगन्यहरूमा नमस्कार । आज हामी हाम्रा पुज्य मातापिताको सामूहिक श्राद्ध कार्यमा उपस्थित भएका छौं । परम्परागत रूपमा कर्मकाण्डीय पद्धतिबाट गरिने श्राद्ध विधिभन्दा अलिक पर सरेर आज यहाँ हामी उहाँहरूलाई संझिरहेका छौं । २०३३ साल कार्तिक २ गते दिवंगत हुनु भएका पिताजीको यत्रो वर्षसम्म कर्मकाण्डीय शैलीले श्राद्ध नै गरिएन । अब आमा पनि बितिसके पछि हामी उहाँहरू दुवैलाई ‘पितृ स्मृति समारोह’ को आयोजनाद्वारा गर्न लागेका छौँ । यो कार्य आज यसरी गरिदैछ भन्ने कुरा आदरणीय पुरेत विष्णु प्र. काफ्लेज्यूलाई पनि भनिएको थिएन ।

मलाई लाग्छ आफ्ना मातापिताको श्राद्ध कसरी गर्ने भन्ने कुरा तिनका संतानहरूको इच्छा अनुसार हुनु पर्ने हो । वैदिन सनातन परम्पराले विकसित गरेको कर्मकाण्डको रूढ परम्पराबाट अलिक पर हटेर हामी यहाँ आइपुगेका छौँ ।
जीवन भनेको मौलिक कुरा हो । यसलाई देख्ने, बुझ्ने र चिन्नेहरूका बीचमा मात्र यसको औचित्य रहन्छ । सम्झनेहरू नै नभए सम्झिइने वस्तुको मूल्य छैन । त्यसैले बाबुआमालाई सन्तानले तार्छन् भनिएको होला । यस संसारमा जन्मेर, यहींको परम्परा अनुसार भूमिका निर्वाह गरी हामी बित्दछौँ । यहीं भोगिएका वस्तुहरूको प्रभाव यहींको समाजमा छोडिएको हुन्छ, त्यसैले मलाई लाग्छ, मानिसको मृत्युपछि कल्पना गरिएका सबै तिलश्मी र रहस्यमय महाआख्यानहरू महान् कल्पनाका प्राप्तिहरू हुन् । तिनलाई विश्वास गरेर जीवनकै शैली बनिसकेको हाम्रो परम्परामा हामीले भिन्न प्रकारले सोच्नु अन्यथा होला झैँ लाग्दैन ।

आत्म सम्बन्धी हाम्रै धार्मिक मान्यताहरूले आफैं त्यसलाई भत्काएका छन् । एक ठाउँमा बनाइ अर्काे ठाउँमा भत्काइएको विश्वासबाट हामीलाई सोच्ने स्वतन्त्रताका लागि प्रशस्त ठाउँ छोडिएको म देख्छु । शरीर र आत्माको असम्पृक्तताबारे उपनिषदहरूमा भनिएको व्याख्या नै हामीलाई बुझ्न सजिलो छ ।’

‘आत्मा अजर, अमर छ । यो सम्पूर्ण चराचरमा व्याप्त छ । यसलाई कस्तै शक्तिले पनि नाश गर्न सक्दैन । यसलाई कसैले मर्छ वा मार्छु ठान्नु नै मूर्खता हो । न यसले कसैलाई मार्छ न यो कसैद्वारा मारिन्छ । न यो कहिल्यै जन्मन्छ, न मर्छ । यो एकपल्ट भएर फेरि सदा सदाका लागि नहुने पनि होइन । यो त अजर छ, नित्य छ, अव्यय छ । पार्थिव देहलाई मार्दा यो मर्छ वा मारिन्छ ठान्न अबुझपन हो । बरू यसले त शरीरले लुगा फेरे झैँ शरीर फेरी हिँड्छ । एउटा शरीर त्यागेर अर्काे शरीर ग्रहण गर्छ । पुरानो र कमजोर शरीर त्याग्छ र नयाँमा प्रवेश गर्छ । यसलाई न हतियारले काट्छ, न आगोले डढ्छ, न पानीले भिज्छ, न हावाले उडाउँछ । यो सदाकालदेखि अविनाशी छ । यो सृष्टिलाई गतिमान बनाउने तत्त्व नै यही आत्मा हो ।’

‘यस प्रकारले आत्माको बारेमा उपनिषद् तथा गीताहरूमा व्याख्या गरिएको छ । यसै व्याख्यालाई हरेक धार्मिक सत्संघहरूमा व्याख्या विश्लेषण गरिने गर्छ । आत्माको असम्पृक्तताबारेको यति ठूलो महाआख्यान हुँदाहुँदै पनि त्यसैलाई फेरि कर्मकाण्डले सारै नै संकुचित बनाइ यही लोकको पापपुण्यको फल भोक्तामा परिणत गरिदिएको छ । दार्शनिकतालाई कर्मकाण्डीयताले काटेर हरिविजोग गरिदिएको छ । त्यसो त म उपनिषदहरूको ‘आत्मावादी’ चिन्तनमा पनि विश्वास गर्दिन, तैपनि हाम्रो परम्पराले बोकी ल्याएको यो युगौँ पुरानो सांस्कृतिक भारीलाई एकैचोटी फ्याँक्न पनि मन लाग्दैन । त्यसैले यसलाई आधुनिक र सजिलो बनाउने कोशिश गरेको हुँ ।’

उपस्थित परिवार जन, लेखक तथा पत्रकार साथीहरू मेरो एकोहोरो प्रवचन सुनिरहेका थिए । सदा साहित्यका सिद्धान्तहरूमा बोलिरहने म आज अध्यात्मबारे बोलिरहेको थिएँ । म भन्दै गएँ–
उपनिषदहरूले आत्मा र शरीरको सम्बन्धलाई एकदम नै फरक पाराले हेरेका छन् । आत्माको तुलनामा शरीरलाई ज्यादै अवमूल्यन गरिएको छ । मानौ कि शरीर भनेको एक किसिमको भार हो । नचाहिने वस्तु हो । आत्माको अघि शरीर बेकारको घीनलाग्दो मांसपिण्ड हो झैँ गरिएको छ । आत्माको खुशी र मुक्तिका लागि शरीरलाई जति नै दुःख र दण्ड दिए पनि हुने, आदि । हुन पनि तापसीहरूले शरीरलाई ज्यादै कष्ट दिएका कैयौं उदाहरणहरू पाइन्छन् । सदा अजर अमर रहनेलाई भुली यो नश्वर शरीरको बसमा परेर इन्दियहरूको भोगमा अल्मलिनु मूर्खता हो भन्दै शारीरिक आकांक्षाहरूबाट पृथक रहन प्रेरित गरिन्छ ।

तर यसै दृष्टान्तसँग पनि कुराहरू बाझिएका छन् । जव सम्पूर्ण कुराको जस अपजसको भारी आत्माले लिने भए शरीरले त्यसको दण्ड भोग्नु पर्ने किन ? त्यही आत्माले खोजी खोजी शरीरमा बास बस्न आउनु पर्ने किन ? शरीरको माध्यमबाट सबैखाले सुखभोग गर्ने अनि त्यही शरीरको यत्रो अपमान किन ? के उपनिषदहरूले भनेझैं शरीरको मूल्य हुन्न ? त्यसो भए भगवानहरूले बारम्बार यिनै शरीरका रूपमा अवतार किन लिएका ? शरीरबाट छुटिसकेपछि आत्मा स्वतः निर्मल हुन्छ भने फेरि त्यसले शरीरको मृत्युपछि किन भड्किनु पर्ने ? त्यसको पुन संस्कार किन गरिनु पर्ने ? एउटा शरीरबाट त्यो निस्केर जानासाथ त्यसले सारा सांसारिक बन्धन त्याग गरिसकेपछि फेरि सांसारिक कर्म बन्धनका विधिहरूले त्यसलाई बाँध्न किन खोज्नु ? के त्यो बाँधिएला त ? जब त्यसको रूप, आकार, रङ, ध्वनि, गन्ध, स्वरूप, लिङ्ग केही हुन्न भने त्यसका नाममा अनेकौ सांसारिकता किन आरोपित गर्नु ?

मलाई लाग्छ, हामीले दिवंगत आफन्तहरूको आत्मालाई सम्बोधित गर्दै गरिने यो कर्मकाण्ड बेकारको नाटक मात्र हो । मेरी आमाको शरीरमा रहेको आत्माको लिङ्ग के स्त्री हो ? मेरी आमा शिवाकोटीकी छोरी भट्टराईकी बुहारी उहाँको आत्माको थर के हो ? आमाको निधन हुनासाथ शरीरको दाह संस्कार गरियो । उहाँको शरीरमा बास गरेको आत्मा के अहिले पनि ‘अम्बिकादेवी भट्टराई’ नामको शरीरकै बन्धनमा भड्किरहेको होला त ? त्यसो भए उपनिषदहरूले व्याख्या गरेको आत्मा चाहिँ कुन हो ?

पुर्नजन्ममा विश्वास गर्नेहरूले भन्छन्, शरीरलाई पुराना कपडा फेरेझैँ आत्माले फेरिरन्छन । त्यो विभिन्न कालमा विभिन्न जीवको शरीरमा प्रवेश गर्दै जन्मिरहन्छ । त्यसो भए पनि त आमाको शरीरमा कुनै समय रहेको आत्माले अहिलेसम्म कतिपल्ट कति शरीरको चक्कर मारिसक्यो होला ? कति जीवमा, कति गोत्रमा, कति लिङ्गमा पुगिसक्यो होला ? के हाम्री आमाको आत्मा कतै चुपचाप हामीले वर्षैपिच्छे लडाउने पिण्डको प्रतीक्षामा बसिरहेको होला ?

त्यसैले यो प्रेतकल्पीय कर्मकाण्डबाट पर रहेर दिवंगत आफन्तहरूको स्मृति गर्नु पर्छ भन्ने मलाई लाग्छ । हाम्रो यही शरीर नै सबैभन्दा ठूलो कुरा हो । यसैको माध्यमबाट हामी जीवनका सबै कर्महरू गर्छौं । वैज्ञानिकतापूर्ण तथ्यहरूले भरिएको यस शारीरिक संरचनालाई बिर्सेर पराकाल्पनिक अन्धविश्वासहरूमा अल्मलिनु पर्दैन भन्ने लाग्छ ।
त्यसैले आजको यस कार्यक्रमलाई हामी पितृ स्मृति सभाका रूपमा मनाउँछौं । पितृहरूको योगदानको मूल्याङ्कन गर्छाैं । हाम्रा साँस्कृतिक मान्यताहरूमाथि विमर्श गर्छाैं । ज्ञान योगको रूपमा यो श्राद्ध कर्म पूरा गर्छौं ।
मेरो लामो प्रवचन सुने पछि सबैजना अलमल्ल परे ।

अनि विचार अभिव्यक्ति कार्यक्रम शुरू भयो । विष्णुकुमार भट्टराई, केशव आचार्य, रश्मिशेखर, लेखनाथ भट्टराई, शिरो सान्दाई, दिदी कमला, भाइ कुमार, ज्वाइँहरू, बहिनीहरू, छोराछोरी, भाञ्जाहरू कृष्ण हुमागाई र कपिल ओली आदि त्यहाँ उपस्थित प्रायः सबैले हाम्रा आमाबुबाहरूलाई सम्झे । कुनै बेला रूने, कुनै बेला हाँस्ने भइरहयो वातावरण । पुरेत विष्णु काफ्लेले बोल्नु अघि हामी सबैकी अभिभावक माइली फुपूलाई मैले बोल्न आग्रह गरेँ ।

उहाँले अत्यन्त भावुक हुँदै आमाबुबाको स्मरण गर्नुभयो । आमाभन्दा एक वर्ष मात्र कान्छी माइली फुपूले आफ्ना बाल्यकालदेखि पछिल्लोकालसम्मका स्मृतिहरू धेरैबेर लगाएर भन्नु भो र अन्त्यमा भन्नु भयो–
‘मलाई हाम्रो धरावासीले आयोजना गरेको यो समारोहको तरिका साह्रै मन पर्यो। आज हामी सबैले दाजुभाउजूलाई यति मजाले सम्झन पायौं । सबैले यसै गर्नु राम्रो हुन्छ । (कृष्ण हुमागाईतिर फर्केर) ऐ कृष्ण ! पछि म मरे पछि मेरो सराद्ध पनि यसरी नै गरिदिनु नि ल ?’
सप्पै जना गलल्ल हाँसे । एकाएक वातावरण रमाइलो भयो । त्यस पछि पुरेतले पितृ भनेको के हो ? तिनको स्मृति किन गर्नु पर्छ ? आदि बारेमा विस्तारपूर्वक चर्चा गर्नुभयो ।

भोलिपल्टदेखि दशैंको विदाले गर्दा पत्रपत्रिकाहरू बन्द थिए । चारदिनपछि निस्केका झापाका सबै पत्रपत्रिकाहरूमा त्यो श्राद्धको चर्चा थियो । कञ्चनजङ्घा एफएमको समवेदना कार्यक्रममा त शिरो सान्दाइले उसैदिन साँझ चर्चा गर्नु भएको थियो । पछि विराटनगर र काठमाडौंका पत्रिकाहरूका कटिङ पनि प्राप्त भए ।

मलाई अचम्म लाग्यो । आफूले त सामान्य काम गरे झैँ लाग्थ्यो तर त्यसले निकै ठूलो चर्चा पायो । वरिपरि छिमेकीहरूले पनि आफूहरूलाई नबोलाएकोमा चित्त दुखाए । प्रायः धेरैले त्यस तरिकाको प्रशंसा गरे । तर पुरेत समाजमा भने त्यो कामको ठूलो आलोचना भयो । पुरेत विष्णु काफ्लेले ठाउँ ठाउँमा पुरेत समाजका अघि निकै असजिलो सामना गर्नुपयो । त्यो कर्मलाई एककिसिमको धर्म विरोधी कामका रूपमा पनि प्रचार गर्न खोजियो । तर त्यस कुराले मलाई केही असर गरेन । मैले आफ्ना आमाबुबालाई सम्झेको हुँ, आफ्नै तरिकाले ।