काठमाडौँको कपन बालुवाखानीमा आगलागी भएको छ । सोमबार राति भएको आगलागीका कारण एकजनाको मृत्यु भएको छ । स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा अरु दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।
३९ वर्षे कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका छन्।
उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण खुलेको छैन ।
राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुईबजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।