• २०८१ पुष ८, २०८१ ०७:३३

प्रतिगमन विरुद्ध ओइ सरकार सुन ! कान खोलेर सुन भन्दै प्रदर्शन

काठमाडौँ । नागरिक समाजले प्रतिगमन कदम विरुद्ध केहि दिन देखि निरन्तर प्रदर्शन गरिरहेका छन् । मंगलबार पनि नागरिक समाजले प्रज्ञा प्रतिष्ठानको डबलीमा प्रदर्शन गरेका छन् । नागरिक अभियन्ताहरुले डबलीमा बृहत नागरिक सभा गरेका हुन् । सभामा लेखक, पत्रकार, कलाकार नागिरक समाजका अगुवाहरु लगायत सर्बसाधारणको उपस्थित रहेको थियो।

कार्यक्रममा युवतीहरुको समुहले प्रतिगमन विरुद्ध नारा लगाएका थिए । उनीहरुले उभिएर ओइ सरकार सुन, कान खोलेर सुन, संसद विघटन राता रात, देश डुबाउन तिम्रो हात जस्ता नारा लगाएका थिए । युवतीहरुले निकै रोचक शैलीमा ओली सरकारको विरुद्ध नारा लगाउदै प्रदर्शन गरेका थिए ।

सभालाई नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा, अभियन्ता सिएन थारु, अपांगता समूहका प्रतिनिधि भोजराज श्रेष्ठ, युग पाठक लगायतले सम्बोधन गरे । सभालाई जनकवि दुर्गालाल श्रेष्ठले भिडियोबाटै आफ्नो कविता पढेर सुनाए ।

डबलीमा नागरिक तहबाट सभा भइरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू पनि कार्यक्रम भएको नदेखेझैं गरी हिँडेका थिए । अधिकांश प्रगतिशील साहित्यकार तथा विद्वान रहेको प्रज्ञा प्रतिष्ठान नेतृत्व भने सरकारी कदममाथि केही बोल्न नमिल्ने भन्दै मौन बसे ।

नागरिक सभामा बोल्दै नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान कुल्चेर काम गर्ने अधिकार कसैलाई नभएको बताउँदै प्रधानमन्त्रीले त्यो हद पार गरेको बताए । उनले भने, ‘संविधानलाई घात नहोस् भनेर नागरिकले भनिरहँदा प्रधानमन्त्रीले न्यायालयलाई नै व्यंग्य गरेका छन् । हामी नागरिकले यसविरुद्ध बोल्नैपर्छ ।’

अध्यक्ष श्रेष्ठले फिलिंगोजस्तो भएर उठेको नागरिक आन्दोलनले भोलि आगोको रुप लिने विश्वास व्यक्त गरे ।