• २०८१ पुष ८, २०८१ १०:२९

नेकपा नेत्री रामकुमारी झाँक्री घरबाटै पक्राउ

काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शंखमूलस्थित आफ्नै घरबाट अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

झाँक्रीले एकहप्ता अघि गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे अभिव्यक्ति दिएकी थिइन् । उनले भनेकी थिइन् – राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाब हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोर्खाबाटै संदेश दिन्छु । शितल निवासको कर्गेट छाडेर कोटेश्वोर फर्किए हुन्छ । चाबहिल होकी कता घर छरे । त्यता नभए बालकोट गएपनि हुन्छ ।

मदन भण्डारीको हत्यापछि तत्कालिन एमालेले २०५० सालमा विद्यादेबी भण्डारीलाई चुनाब लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनाबमा उठाउने नेकपा एमालेले जुन सस्कृति सुरु गरेको थियो, जे गरेको थियो त्यसको प्रतिउत्पादक हो विद्यादेवी भण्डारी उनले भनेको थिइन् ।

झाँक्रीलाई राज्यविरुद्धको कसूरमा पक्राउ गरिएको प्रहरीले बताएको छ । यदि राज्यविरुद्धको कसूर प्रमाणित भए झाँक्रीलाइ ७ बर्ष जेल, ७० हजार जरीवाना वा दुवै सजाय हुन सक्ने मूलुकी अपराध संहिताको दफा ५८ को २ मा उल्लेख छ ।