• २०८१ पुष ८, २०८१ ११:१४

पक्राउ परेको ६ घण्टापछि रामकुमारी झाँक्री रिहा

काठमाडौँ । नेकपा नेत्री रामकुमारी झाँक्री पक्राउ परेको ६ घण्टापछि रिहा भएकी छिन् । बिहिबार दिउँसो १ बजे उनलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको थियो। चौतर्फी विरोध भएपछि झाँक्रीलाई प्रहरीले रिहा गरेको हो ।

झाँक्रीको पक्राउपछि चौतर्फी रुपमा सरकारको आलोचना भएपछि दबाब थेक्न नसकेर उनलाई रिहा गरिएको हो । उनको पक्राउको विरोधमा सामाजिक संजालदेखि बिभिन्न राजनतिक दल तथा तिनका नेताले आलोचना गर्दै रिहाई गर्न माग गरेका थिए ।

उनको पक्राउपछि नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले माइतीघर देखि बानेश्वोरमा विरोध प्रदर्शन गरेको थियो । बानेश्वोरमा प्रहरी नेकपाका कार्यकर्ताबीच झडप नै भएको थियो ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी उनलाई राज्यविरुद्धको कसूर अन्तर्गत अनुसन्धान गर्न पक्राउ गरिएको थियो । उनले एकसाता अघि गोरखामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबारे आलोचना गरेकी थिइन् । उनको त्यो अभिव्यक्तिलाई लिएर ओली समूहले विरोध गरेका थिए भने झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई माग गरेको थियो ।