विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।
मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
भावी मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको सो प्रस्तावमा आइतबार सुरु हुने विशेष अधिवेशनमा छलफल प्रारम्भ हुँदै थियो। अहिले प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् ।