• २०८१ पुष ८, २०८१ ११:१४

मन्त्रिपरिषद बिस्तारमा किन अलमल ?

काठमाडौँ । शेरबहादुर देउबा प्रधानमन्त्री नियुक्त भएको दुई साता बित्दापनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा पार्टी मिलेर बनेको गठबन्धनको सरकारले मन्त्रिपरिषद विस्तार गर्न अझै ढिलाई गरिरहेको छ । बिहिबार प्रधानमन्त्री शेबहादुर देउबा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच मन्त्रिपरिषद बिस्तारको बिषयमा छलफल भएको थियो । उक्त भेटघाटमा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको थियो ।

देउबा र प्रचण्ड भेट लगत्तै बसेको सत्तारुढ गठबन्धनका तिन मुख्य पार्टीका नेताहरुको बैठकले मन्त्रालय बांडफाटमा सहमति गरेको थियो । सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओबादीले ७, जसपाले ७ मन्त्रालय पाउने गरि सहमतिको भएको थियो । माधब नेपाल पक्षलाई पनि समेट्ने गरि मन्त्रालय बाडफाट भएको स्रोतले बताएको छ । माधब नेपाल पक्षले भने तत्कालै सरकारमा नजाने संकेत गरेका छन् ।

माधब पक्षका केहि नेताहरु सरकारमा जानु पर्ने पक्षमा छन् भने केहि नेताहरु सरकारमा जानु नहुने पक्षमा देखिएका छन् । नेकपा एमालेको पार्टी भित्रको विवादले गर्दा माधब पक्ष र ओली पक्ष बीच टकराब जारी रहेको छ । नेकपा एमालेलाइ एक ढिक्का पार्न दोस्रो तहका नेताहरु ओली र माधब नेतालाई फकाउन प्रयासरत छन् तर सफल हुन सकिरहेको छैन । यहि बिबादका बीच माधब पक्ष सरकारमा सहभागी जनाउन नसकेको हो । यस्तै प्रधानमन्त्री देउबा भने माधब पक्षलाइ समेटेर एकैपटक मन्त्रिपरिषद विस्तार गर्न चाहन्छन्  तर माधब नेपालले भने सरकारमा सहभागी नहुने बताइसकेको छ ।

बिहिबार सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले माधब पक्षलाइ अधिकतम अवसर दिनेगरि मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेपनि प्रधानमन्त्री देउबाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन। अहिले मन्त्रिपरिषद विस्तार नहुनुमा माधब नेपाल पक्ष कारक देखिएको छ । माधब नेपालले सरकारमा नजाने बताएपनि उनि निकट नेताहरुको सरकारमा सहभागी हुनुपर्ने दबाबले गर्दा माधब नेपाल अलमलमा परेका छन् । अहिले माधब पक्षका अधिकांश नेताहरु पार्टी एकताको पक्षमा रहेका छन् भने केहि नेताहरु पार्टी बिभाजन गरेर भएपनि सरकरमा सहभागी हुनुपर्ने तर्क गरेका छन् । साउन ३ मा देउबालाई नेकपा एमालेका माधबसहित २२ सांसदले विश्वासको मत दिएका थिए । अहिले सत्तारुढ गठबन्धन पार्टी भित्रका अन्तर्कलहले गर्दा पनि मन्त्रिपरिषद विस्तार गर्न ढिलाई भएको बुझिएको छ । सत्ता सझेधारी पार्टी बीच मन्त्रालय बाडफाटमा सहमति जुटेतापानी कस-कसलाई मन्त्री बनाउने भन्नेमा टुंगो भने अझै लागिनसकेको कारणले पनि मन्त्रिपरिषद बिस्तारमा ढिलाई हुन गएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउबाले भने नेकपा अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादबलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । सम्भबत अबको एक दुई दिनमै मन्त्रिपरिषदले पुर्णता पाउने सम्भावना रहेको छ ।

असार २९ गते शेरबहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने उनले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँट, कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की भने माओबादीबाट अर्थमन्त्रीमा जनार्धन शर्मा र उर्जामंत्रीमा पम्फा भुसाल गरि चार जना मन्त्री नियुक्त गरेर सानो मन्त्रीमंडल बनाएका थिए । केहिदिन अघि प्रधानमन्त्री देउबाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त गरेको थियो जुन निकै विवादित बनेको थियो ।