• २०८१ पुष ९, २०८१ ०५:२८

माधव नेपाल र महन्थ ठाकुरको पार्टीले पायो दलको मान्यता

काठमाडौँ । माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले दलको मान्यता पाएका छन् । बुधबार निर्वाचन आयोगले औपचारिक रुपमा दलको मान्यता दिएको हो । माधव समुहले एमाले बिभाजन गरेर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निबेदन दिएका थिए।

उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ ।

त्यसैगरि महन्थ ठाकुर नेतृत्व लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।   नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

यो सँगै नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ । एमाले माओवादी र समाजवादी राजपाबीच एकता भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या तीनमा झरेको थियो । तर, एमाले माओवादीको एकता खारेजी, एमाले र जसपा विभाजन भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको हो । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा रहेका छन् ।