गोरखा । कोरोना संक्रमण बढ्न थालेपछि गोरखा जिल्लामा पुन भदौ २ गतेदेखि ११ गते सम्म लगाएको निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ १२ गतेबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने भएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बिहिबार बसेको बैठकले निषेधाज्ञा खुकुलो गरेर सवारी साधनमा जोर विजोर लागु गर्ने निर्णय गरेको हो ।
यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण सामग्री, स्टेशनरी, कपडा तथा फेन्सी पसल, सुनचाँदी, टेलरिङ, फोटो स्टुडियो, भाडा तथा कस्मेटिक पसलहरु बिहान ५ देखि दिउँसो २ बजेसम्म मात्र खुल्न पाउने छन् ।
खाजा घर, रेष्टुरेष्ट र मिठाइ पसलहरु भने बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ला रहनेछ । जनस्वास्थ्यको निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी होटल तथा लजहरु सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ । सिनेमा हल, सैलुन, व्युटी पार्लर र फुटपाथ पसल सञ्चालनमा भने रोक लगाइएको छ ।
सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयले आलोपालो प्रणाली लगाएर सेवा प्रदान गर्नेछन् । धार्मिक स्थलहरुमा नित्य पूजा बाहेकका अन्य कार्य गर्न, भौतिक रुपमा उपस्थित भई शैक्षिक गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, जात्रा र महोत्सव गर्न पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले जानकारी दिए ।