• २०८१ पुष ९, २०८१ ०५:३१

पशुपतिनाथको मन्दिर खोल्ने तयारी

काठमाडौँ । कोभिड -१९ को कारणले बन्द गरिएको पशुपतिनाथको मन्दिर खोल्ने तयारी भएको छ । हरितालिका तिज भन्दापहिले  नै मन्दिर खुल्ला गर्ने तयारी भएको बताएको छ । पशुपतिनाथको मन्दिर महामारीका कारण ५ महिनादेखि बन्द गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

देशमा कोरोना संक्रमण कम हुदै गएपछि पशुपतिनाथको मन्दिर खुल्ला गर्न लागिएको बताएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा त्यसको आसपासमै पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी भएको हो । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले सुनाए । मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ ।