• २०८१ पुष ८, २०८१ १२:१७

दिपक मनाङ्गे एकीकृत समाजबादीमा प्रवेश

काठमाडौँ १९ मंसिर, गण्डकी प्रदेशसभा सदस्य अर्थात् मनाङ्ग २ बाट निर्वाचित दिपक मनाङ्गे नेकपा एकीकृत समाजबादी पार्टीमा प्रवेश गरेका छन् । उनलाई एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालले सोमबार पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए ।

मनाङ्गे स्वतन्त्र उम्मेदवार बनेर दोश्रो पटक गण्डकी प्रदेशसभा सदस्य बनेका हुन् । उनी गण्डकी प्रदेशका खेलकुद मन्त्री हुन् । स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्ने बचन दिएका मनाङ्गे अहिले भने स्वतन्त्र रहनु भन्दा पार्टीमा लागेर जनताको सेवा गर्नु प्रभाबकारी हुने भएकोले पार्टीमा प्रवेश गरेको बताएका छन् । उनले एकीकृत समाजबादी पार्टी संग आफ्नो नीति, सिद्धान्त र विचार मिल्ने भएकोले एकीकृत समाजबादी पार्टी प्रवेश गरेको बताएका छन् ।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।