काठमाडौँ । दोहा कतारमा भईरहेको फिफा विश्वकप फुटबलको अर्जेन्टिना र क्रोएसिया बीच भएको सेमिफाइनल खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।
खेलमा मेस्सिले पेनाल्टी मार्फत गोल गर्दै तर्फबाट खाता खोलेका थिए । त्यसपछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुर्याएका हुन् ।
स्ट्राइकर अलभारेजलाई गोलकिपर डोमिनिक लिभाकोभिचले फल गरेपछि अर्जेन्टिनाले ३४ औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसमा मेसीले सहजै गोल गरेपछि अर्जेन्टिना अगाडि बढ्यो । यससगै मेसीले प्रतियोगितामा सर्बाधिक ५ गोल गरेका फ्रान्सका किलियन एम्बाप्पेको गोल संख्यालाई बराबरी गरेका छन् । उनी विश्वकपमा सबभन्दा बढी ११ गोल गर्ने अर्जेन्टिनी खेलाडी भए । उनले विश्वकपमै सबभन्दा धेरै २५ खेल खेलेका लोथर म्याथ्युज (जर्मनी) को रेकर्ड बराबरी गरे ।
अलभारेजले ३९ औं मिनेटमा गरेको गोल निक्कै उत्कृष्ट रह्यो । मेसीले मैदानको मध्यभागनजिक हेडद्वारा दिएको बललाई अलभारेजले अगाडि बढाउदै पेनाल्टी क्षेत्रमा पुर्याएर बललाई जाली चुमाउदै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । जासेपि बुरानोभचि र बोर्ना सोसालाई लागेर फर्केको बललाई उनले लिभाकोभिचलाई कुनै मौका नदिई गोलमा परिणत गरेका थिए ।
यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका जोस्को जिभार्डियोलालाई छक्याउदै मेसीले उत्कृष्ट रूपमा उपलब्ध गराएको बललाई अलभारेजले फिनिसिङमा दिदै ६९ औं मिनेटमा अर्जेन्टिनालाई ३–० को अग्रता दिलाएका थिए । यससँगै उनको यो विश्वकपमा गोल संख्या ४ पुगेको छ ।