काठमाडौँ । भारतमा बस दुर्घटना हुदा ४ जना नेपालीको मृत्यु भएको छ । भारतको गुजरातबाट लखनउतर्फ आउदै गरेको बस आइतबार राति दुर्घटना भएको हो । उक्त बसमा ६६ जना यात्रु रहेको बताएको छ । बसमा सवार केहि व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए । यसरी सञ्चालन हुने बस सेवाबारे आफूहरुलाई जानकारी पनि नहुने उनको भनाइ छ । उनले भने, ‘दुर्घटना भयो भन्ने समाचार आएको छ । तर उता (भारततर्फ) बाट आधिकारिक केही खबर आएको छैन ।’
स्थानीयका अनुसार यसरी भारत ओहोरदोहोर गर्ने बसहरु यहाँका समिति तथा बस व्यवसायीहरु आवद्ध हुँदैनन् । नेपाली बसहरु पनि त्यसरी सञ्चालन हुँदैनन् । यहाँका स्थानीय युवाहरुले यात्री खोज्ने र पठाउने चाँजोपाँजो गर्ने गर्छन् र उनीहरुहरुले त्यस बापत निश्चित प्रतिशत पारिश्रमिक पाउने गर्दछन् । प्रहरीका अनुसार यसरी सञ्चालन हुने बस व्यवसाय अवैध हो ।