• २०८१ पुष ८, २०८१ ०१:५१

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय रवि लामिछाने फेरी उम्मेदवार बन्ने

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि मङ्सिर ४ गते भएको निर्वाचनमा रवि लामिछाने सो क्षेत्रबाट निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्च अदालतको फैसलामा लामिछाने पदमुक्त भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन गर्न लागेको हो ।

रवि लामिछानेले फेरी चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने गत आइतबारको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । रवि लामिछानेले पुन नेपाली नागरिकता लिएपछि उम्मेदवार बन्ने बाटो खुलेको हो । सर्वोच्च अदालतले फैसला गरेको पर्सिपल्ट रविले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रक्रिया पुर्याएर नागरिकताको प्रमाणपत्र लिएका थिए । रवि लामिछानेले दोहोरो राहदानी लिएको कारणले उनको विरुद्ध अहिले सरकारी वकिल कार्यालयमा उजुरी परेको छ । तर राहदानीको कारणले तत्काल उम्मेदवार बन्न रविलाई नरोकिने कानुनका ज्ञाताहरुले बताएका छन् । फर्जी राहदानी लिएको उजुरी परेको कारणले अहिले सरकारी वकिल कार्यलयले अनुसन्धान सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था छ । उक्त दफामा ‘राहदानी दुरुपयोग’को अभियोगमा अदालतबाट दोषी ठहर भएमा र त्यो फैसला अन्तिम भएको व्यक्ति मात्रै उम्मेदवार हुन नपाउने व्यवस्था छ । तर लामिछानेको राहदानीको उजुरीमाथिको छानबिन निकै प्रारम्भिक चरणमा रहेकाले त्यत्तिका कारणले उनलाई उम्मेदवार हुन कानूनी अवरोध नहुने जानकारहरु बताउँछन् ।