• २०८१ पुष ८, २०८१ ०६:४९

बालेन शाह टाइम म्यागेजिनको विश्वका सय उदयमान नेताको सूचीमा

भदौ २७, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई टाइम म्यागेजिनले विश्वका सय उदयीमान नेताको सूचीमा छनोट गरेको छ । म्यागेजिनले  तयार पारेको यस बर्षको  ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेन शाहलाई समावेश गरिएको हो ।

सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ । बालेन शाहले काठमाडौँ सहरको मुहार फेर्न गैरकानुनी संरचना भत्काएर चुनाव अघि दिएको आफ्ना प्रतिबद्धता पुरा गरेको भन्दै म्यागेजिनले प्रशंसा गरेका छन् ।

‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।

टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ ।