भदौ २८, काठमाडौँ । नेपाल सरकारले युरोप लगायत ८ देशमा नेपाली दूतावास खोल्ने भएको छ । सरकारले युरोपका ५ देशसहित अन्य ३ देशमा नेपाली दूतावास स्थापना गर्न लागेको हो । दुतावास खोलिने नयाँ देशहरुमा पोर्चुगल, माल्टा, क्रोएसिया, रोमानिया, पोल्याण्ड, साइप्रस, माल्दिभ्स र टर्की रहेका छन् जहाँ अहिले सम्म नेपाली दूतावास छैनन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा बसेको उच्चस्तरीय बैठकले बिदेशमा रहेका नेपाली समुदायलाई सेवा प्रदान गर्न नेपाली दूतावास खोल्न लागेको हो ।
यी दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहनेछन् । दूतावास खोल्ने प्रक्रिया पुर्याउन प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । यसलाई विशेष प्राथमिकता दिई आवश्यक कार्य अगाडि बढाउन अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । युरोपमा अदक्ष कामदारको संकट बढेपछि नेपालसहित दक्षिण एसियाबाट कामदार जानेक्रम बढेको छ । दूतावासहरूका अनुसार हाल सबैभन्दा बढी पोर्चुगलमा ४५ हजार, रोमानियामा २१ हजार, १० हजार, टर्कीमा १० हजार, माल्दिम्भसमा १२ हजार र पोल्यान्डमा २१ सय नेपाली छन् । युरोपमा कामदारको माग बढेपछि मानव तस्करी पनि बढेको छ । यी देश हेर्ने जिम्मेवारी पाएका दूतावासले मानव तस्करी रोक्न नसक्ने भएपछि दूतावास थप्न लागिएको हो । यी देशलाई जर्मनी, अस्ट्रिया र पाकिस्तानमा रहेका नेपाली दूतावासले हेर्ने गर्छन् ।