• २०८१ पुष ८, २०८१ ०४:१२

नेपाल टी-२० विश्वकपमा छनोट

कातिक १७ काठमाडौँ । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी खेल मैदानमा भएको खेलमा नेपालले यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै टी-२० विश्वकपमा छनोट भएको हो । नेपाल १० बर्ष पछि टी-२० विश्वकपमा प्रवेश गरेको हो ।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता तीन (२०१६, २०२१ र २०२२) विश्वकपमा पुग्न चुकेको थियो ।

पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर शुक्रबार यूएईलाई रोकेर नेपाल टी–२० विश्वकपमा पुगेको हो ।

कप्तान रोहितकुमार पौडेलका अनुसार शुक्रबार मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेको भए ब्याटिङ गर्ने थियो । ‘विकेट हेर्दा मोस्चर देखिराथ्यो । सुरुमा रिस्क लिएर सेकेण्ड इनिङ्समा यूएई अन्डर प्रेसर हुन्छ भन्ने थट प्रोसेस थियो’, खेल जितेपछि रोहितले सुनाए ।

यूएईले टस जित्यो र ब्याटिङ रोज्यो । ‘म टस हारेर आएँ । पारस दाइ (पूर्व कप्तान एवं क्रिकेट संघका सचिव पारस खड्का)ले ‘ए गुड टस टु लस भन्नुभयो मलाई पनि त्यस्तै लाग्यो’ पोष्ट म्याच कन्फ्रेन्समा रोहितले सुनाए ।

यूएईका कप्तान मोहम्मद वसिमले सुरुको तीन ओभरमा चौका र छक्का हान्दै राम्रो सुरुवात दिलाउन खोजेका थिए । तर चौथो ओभर नेपालको पक्षमा आयो ।

पहिलो बलमै सोमपाल कामीले खालिद शाहलाई नन स्ट्राइक एन्डमा दौडेर गएर फ्लाइङ स्टाइलमा उत्कृष्ट रनआउट गरे । त्यही ओभरको चौथो बलमा सोमपालले कप्तान वासिमलाई करण केसीलाई क्याचआउट गराए । वासिमले १६ बलमा २६ रन बनाए ।

‘विकेट हेर्दा १४०–१५० भन्दा तल रोक्न सके सजिलो हुन्छ भन्ने सोच थियो । वासिमको विकेट लिए सजिलो हुन्छ भन्ने थियो र सोम दाइले विकेट पनि लिनुभयो’ रोहितले भने ।

त्यसपछि वृत्य अरविन्दले एक छेउबाट इनिङ्स सम्हालेका थिए, तर अर्को छेउबाट विकेट जाँदा यूएई ठूलो स्कोरसम्म पुग्न सकेन । मिडल ओभरमा यूएईको ब्याटिङ धरासायी भयो । अलिशान सराफूले साझेदारी गर्न खोजे पनि सकेनन् । उनी १६ रनमा आउट भए ।

नेपालका मिडर पेसरहरु राम्रो नचेले पनि स्पीनरहरु चलेका थिए । सन्दीप लामिछाने र कुशल मल्लको २/२ ओभर स्पेश पनि थियो, तर १६औं ओभरमा कप्तान रोहितकुमार पौडेल आफैं बलिङमा आए । यदि केही बाउन्ड्री गएको भए मोमेन्टम सिफ्ट हुनसक्थ्यो, तर विकेट लिएकाले उनले खेलेको ग्याम्बल नेपालको पक्षमा आयो ।

१८औं ओभरमा सन्दीपले उत्कृष्ट बलिङ गरे । पहिलो बलमै बासिल हमिदको महत्वपूर्ण विकेट लिएका उनले बाँकी बलमा रन दिएनन् ।