• २०८१ पुष ८, २०८१ ०१:४०

सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डे यो दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा नेकपा एमाले, नेकपा माओबादी र रास्वपा  मिलेर नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेका पाण्डेले राजिनामा दिएका थिए भने एमालेको तर्फबाट खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए ।

१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक  ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

२७ सदस्य रहेको संसद्को ठूलो दल कांग्रेस संसदीय दलका नेता पाण्डेले ५७ दिनमा फेरि मुख्यमन्त्रीमा पुनरागमन गरेका छन् । यस्तै अर्थमन्त्रीमा डा टेकराज गुरुङ नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा बिन्दुकुमार थापा नियुक्त भएका छन् । मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले शपथ लिएका छन् ।