• २०८१ पुष ८, २०८१ ०९:२५

मौद्रिक नीति सार्वजनिक, वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण, २० करोडको सिमा खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकको गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो । त्यस्तै मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको गभर्नर महाप्रसाद अधिकारीले बताए । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ काे माैद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर  तथा एसएलआरलाई यथावत राखिएको छ ।

मौद्रिक नीतिले शेयर लगानीकर्ताको संस्थागत तर्फको २० करोडको शेयर धितो कर्जाको सिमा खारेज गरेको छ । संस्थागत तर्फको शेयर धितो सिमा हटेपनि व्यक्तिगत तर्फको शेयर धितो सिमा भने पहिलेको नै १५ करोड नै कायम रहेको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले विदेशी विनियममा लिएको कडा नीतिलाई खुकुलो बनाएको छ । बैंकहरुमा विदेशी मुद्राको सञ्चिती बढ्दो अवस्थामा रहेकाले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत नीति लचिलो बनाएको हो । गर्भनर महाप्रसाद अधिकारीले राहदानी विदेशी विनिमय व्यवस्थापनबारे घोषणा गर्दै राहधानीमार्फत सटही हुने विदेशी मुद्राको सिमालाई सहजीकरण गर्ने घोषणा गरेका हुन् । यस्तै आयातका लागि ड्राफ्ट र टीटीका माध्यमबाट हुने मुद्रा सटही सुविधाको विद्यमान सीमा ३५ हजार डलरबाट ५० हजार अमेरिकी डलर कायम भएको छ ।

यस्तै आयातका लागि ६० हजार डलर तोकिएको सिमा १ लाख डलर पुर्याइएको छ । याेसँगै नेपालमा खोलिएको परिवत्र्य खाताबाट भुक्तानी गर्न सक्ने सिमा खुकुलो बनाइएको छ ।   सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा छ ।

यस्तै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण दिने जनाएको छ ।