• २०८३ भाद्र २, २०८३ ०६:३१

रास्वपाको ‘क्यान्डिडेट क्लब’ घोषणा, गाउँपालिकाका उम्मेदवारका लागि आजदेखि आवेदन खुल्ला

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन तथा छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ ।

सोमबार काठमाडौंको चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरेका हुन् । पार्टीले स्थानीय तह निर्वाचनमा योग्य, सक्षम र उपयुक्त उम्मेदवार छनोट गर्न आकांक्षीको विभिन्न पक्षबाट मूल्यांकन गर्ने उद्देश्यले क्लब सञ्चालनमा ल्याएको जनाएको छ ।

सभापति लामिछानेका अनुसार स्थानीय तहको उम्मेदवार बन्नुअघि आकांक्षीको राजनीतिक तथा अन्य मापदण्ड ‘क्यान्डिडेट क्लब’मार्फत जाँच गरिनेछ । उम्मेदवारको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको समेत मूल्यांकन गरिने उनले बताए ।

लामिछानेले नेतृत्वमा पुगेका व्यक्तिहरूका विषयमा विभिन्न प्रश्न तथा कुरा उठ्ने गरेको उल्लेख गर्दै उम्मेदवार छनोटअघि नै त्यस्ता विषयको अध्ययन गर्न आवश्यक रहेको बताए ।

‘नेतृत्वमा आएका कयौं मानिसहरूका कयौं कुराहरू उठ्दै आउँछन् । त्यसकारणले ‘क्यान्डिडेट क्लब’ भित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नको लागि यो क्लब गठन गरिएको हो,’ लामिछानेले भने ।

रास्वपाले प्रारम्भिक चरणमा गाउँपालिकाबाट उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा गाउँपालिकाअन्तर्गतका वडाध्यक्षलगायत राजनीतिक पदमा उम्मेदवारी दिन चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि सोमबारदेखि नै औपचारिक रूपमा आवेदन खुला गरिएको छ । आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिकाबाट उम्मेदवारी दिन चाहने आकांक्षीले पार्टीको ‘क्यान्डिडेट क्लब’मा आवेदन दिन सक्नेछन् ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई केवल राजनीतिक सक्रियताका आधारमा सीमित नगरी आकांक्षीको समग्र पृष्ठभूमि मूल्यांकन गर्ने नीति अघि सारेको देखिन्छ । कानुनी तथा आर्थिक अवस्था, सामाजिक सम्बन्ध, पारिवारिक पृष्ठभूमि र राजनीतिक गतिविधिलगायत विषयलाई मूल्यांकनको आधार बनाउने पार्टीको तयारी छ ।

स्थानीय तह जनतासँग प्रत्यक्ष रूपमा जोडिएको सरकारको तह भएकाले त्यहाँ निर्वाचित हुने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने रास्वपाको बुझाइ छ । स्थानीय विकास, सेवा प्रवाह तथा नागरिकका दैनिक समस्यासँग प्रत्यक्ष रूपमा जोडिने जनप्रतिनिधिका लागि योग्य र सक्षम व्यक्तिको छनोट आवश्यक रहेको पार्टीले जनाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिको पृष्ठभूमि र योग्यताको प्रारम्भिक परीक्षण गरी उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।

गाउँपालिकाबाट सुरु गरिएको यो प्रक्रिया आगामी चरणमा अन्य स्थानीय तहका राजनीतिक पदका आकांक्षीसम्म विस्तार हुने अपेक्षा गरिएको छ । पार्टीले उम्मेदवार बन्न चाहने सबै आकांक्षीलाई तोकिएको प्रक्रियाअनुसार ‘क्यान्डिडेट क्लब’मा आवेदन दिन आह्वान गरेको छ ।